असार ५, काठमाडौँ । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रियंकाले सामाजिक सञ्जालमा घाउको तस्वीर सेयर समेत गरेकी छन् । ‘भगवानलाई धन्यवाद यो चोट धेरै गहिरो छैन,’ उनले लेखेकी छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको घाउको तस्वीर भाइरल भएसँगै फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
तस्वीरमा उनको घाँटीमा निकै गहिरो चोट लागेको देखिन्छ । अस्ट्रेलियामा छायांकन भइरहेकफ ‘द ब्लफ’ मा कार्ल अर्बनसँग प्रियंकाले सहकार्य गर्दैछिन् । ओटीटी प्लाटफर्म प्राइम भिडियोमा रिलिज हुने यो फिल्मको निर्देशन फ्र्यांक ई फ्लावर्सले गरिरहेका छन् ।
यसबाहेक प्रियंकाको सूचीमा जोन सीनाको फिल्म ‘हेड अफ स्टेट’ पनि छ । त्यस्तै अमेजन प्राइम सिरिज ‘सिटाडेल’को दोस्रो सिजनमा पनि उनी देखिनेछन् । त्यस्तै फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि उनको सूचीमा छ, जसमा कट्रिना कैफ र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।