२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी….

११ आश्विन २०८१, शुक्रबार ०८:२२

असोज ११, काठमाडौँ ।  ‘महँगी बढेर सेक्यो ढाड पनि

गरिबै रुवाउन आउँछन् चाड पनि

रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…।’

गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ ।

गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैँ गीत ‘रित्तो भकारी…’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने  देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ :

‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि

दुई पैसा कहीँबाट छैन आम्दानी

दसैँ आइसक्यो

रित्तो गोजी, रित्तै छ भकारी

परान खाइसक्यो…।’

गायक खत्रीलाई दसैँगीतका पर्यायभन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी…’ उहाँको सत्रौँ दसैँ गीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा  दसैँ गीत सार्वजनिक गर्दै आउनुभएको छ । उहाँको पहिलो दसैँ गीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । “यसपालिको दसैँ गीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ”, उहाँले भन्नुभयो ।

सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दसैँ गीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ ।

“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँ गीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।” दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् ।

गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको….’, ‘दसैँमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । दसैँगीतमा उहाँले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आउनुभएको छ । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।

दसैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दसैँ गीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दसैँ गीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दसैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दसैँ आयो…’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् :

‘मनमा खुसी उमङ्ग छाउँदैछु

पाँच वर्षपछि म नेपाल आउँदैछु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्यो…।’

घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –

‘भित्ताको पात्रो फेरेको फेरै छु

तिम्रै मूलबाटो हेरेको हेरै छु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्या…।’

वर्षौँपछि दसैँमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दसैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दसैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ:

‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो

यो साल पनि आइन घर यस्तै भो

दशैँ आयो तिहारै आयो

परदेशी हरायो…।’

दसैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –

‘प्यारा तिमी हङकङ मलाय

यता घर जमारा पलाए

दशैँ आयो तिहारै आयो…।’

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक-स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याउनुभएको छ ।

गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दसैँ गीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ– 

‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा

जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड

आइहाल्यो चाडबाडको लर्को

आइहाल्यो सम्झना गाउँघरको…।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने