दिनेश ठकुल्ला । पुस २६, धनगढी | नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमाङ्कन गर्नु पर्ने बताउनुभएको छ ।
धनगढीमा आज आयोजित काङ्ग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएको नेता महतले सो कुरा बताउनुभएको हो । उहाँले काँग्रेसले लिएको आर्थिक उदार नीतिमा अहिले सबै दलहरु आउनु परेको बताउनभयो ।
पूर्व अर्थमन्त्री डा. महतले काङ्ग्रेसले अगुवाई गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीतिमा सवै दलहरु आउनु परेकोले नेता कार्यकर्ताले शिर ठाडो गरेर पार्टीको संगठनमा लाग्नु पर्ने बताउनुभयो । २०४८ देखि काङ्ग्रेसले अघि सारेको आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बावजूत देशको अर्थ व्यवस्था टिकेर बसेको दावी उहाले गर्नुभयो । काङ्ग्रेसका नेता एवं बन तथा भू–संरक्षण र राज्य मन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर संगठनमा लाग्नु पर्ने बताउनुभयो । काङ्ग्रेसका अर्का नेता एवं सांसद रामकृष्ण यादवले एमाले र मधेशी मोर्चाको अतिवादमा अहिले देश फसेको दावी गर्दै यसलाई निकास दिन कांग्रेस सक्षम रहेको बताउनु भयो ।
कार्यक्रममा सांसद व्दय पुष्करनाथ ओझा, चन्द्रा जोशी लगायतले पनि बोल्नु भएको थियो ।