जेठ २४, काठमाडौँ । काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ ।
गत वैशाख ५ गते सञ्चिताको उनको कोठामा हत्या गरी उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त प्रशान्त तामाङ र मृतक संचिता पाख्रिनबिच २ वर्ष पहिलादेखि चिनजान रहेको थियो । प्रशान्तको भतिजको श्रीमती गंगा तामाङ मार्फत दुवैबीच चिनजान भएको थियो । त्यसपछि दुई बीचमा प्रेम सम्बन्ध रही नियमित भेटघाट हुने र विभिन्न स्थानहरुमा घुम्न जाने समेत गरेको प्रहरीको भनाई छ ।
प्रेम सम्बन्धको केही महिनापछि प्रशान्तले संचितालाई कोठा खोजी आफुले नै भाडा तिरिदिने गरेका थिए । उनी संचिताको कोठामा बस्ने र बेलाबेलामा खर्च समेत दिने गरेका थिए ।
उनीहरुले यहि असार महिनामा विवाह गरी सँगै बस्ने सल्लाह समेत गरेका थिए । तर, संचिता गर्भवती भएपछि दुवैबीच विवाद बढेको थियो । सञ्चिताको पेटमा बच्चा प्रशान्त तामाङले राख्न चाहन्थे । तर, संचिताले भने उक्त बच्चा फाली दिएको कुरा गरेपछि दुवैबीच बिचमा सोही बच्चाको विषयमा विवाद भएको थियो ।
विवादकै क्रममा गत वैशाख ५ गते राती प्रशान्तले संचितालाई बेडमा लडाई घाँटी थिचेर हत्या गरी सोही बेडमा सिरकले छोपी भोलिपल्ट विहान ५ बजे कोठामा बाहिरबाट ताला लगाई फरार भएका थिए ।
घटनाको चार दिनपछि संचिता बसेको कोठाबाट गन्ध आएको र बाहिरबाट चाबी लगाएको अवस्थामा रहेकोमा कोठा खोलि हेर्दा सञ्चिताको शव भेटिएको थियो ।
अनुसन्धान पश्चात् प्रशान्त तामाङलाई दोलखा प्रहरीको सहयोगमा गत जेठ २३ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जानकारी दिएको छ ।