असार १०, बाजुरा । बुढीगङ्गा नगरपालिका–३ मा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज झडप हुँदा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।
चुनावी प्रचार प्रसारका क्रममा सेलारावाडामा झडप भएको हो । घाइते हुनेमा ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले घाइते भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो ।
प्रचारप्रसारका क्रममा काँग्रेस र एमाले कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको थियो । घाइते सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि अछामको बयलपाटा पठाइएको काँग्रेसका बुढीगङ्गा–३ का वडाध्यक्षका उम्मेदवार जयराज उपाध्यायले बताउनुभयो । रासस