काठमाडौँ | स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान उपस्थित भएका छन्। उनको थुनछेक बहस पनि आइतबार नै सिध्याउनेगरी तयारी गरिएको बताइएको छ।
लामिछानेका वकिल सुशील पन्तले बहस सक्नेगरी नै तयारी गरिएको र सकभर साधारण तारेख वा धरौटीमा छाड्नका लागि पैरवी गरिने बताएका विवरण प्राप्त भएका छन्।
तर आइतबार बहस नसकिएको खण्डमा लामिछानेलाई अदालतले हिरासत पठाउन सक्ने पनि बताइन्छ। यदि एकै दिनमा बयान र थुनछेक बहस नसकिए अदालतले उनलाई निर्णय नआउँदासम्म हिरासतमा राख्न आदेश दिन सक्ने महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी बताउँछन्।
यद्यपि लामिछानेबारे अदालतले बहस नसकिए पनि हिरासतमा नै पठाउला कि तारेखमा छाड्ला त्योचाहिँ हेर्न बाँकी रहेको छ।