काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । बैंक ग्यारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।
सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।
यसअघि लामिछानेले गत पुस २५ गते कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।