काठमाडौँ | काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन्।
झडप महानगरको नगर प्रहरी बलले कवाडी गोदाम हटाउने क्रममा भएको हो। नगर प्रहरीको टोली डोजर लिएर अवैध रूपमा निर्माण भएका कवाडी संकलन केन्द्रहरू भत्काउन पुगेको थियो। तर, व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो।
नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार कवाडी व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गरेपछि आत्मसुरक्षाका लागि प्रहरीले कारबाही गरेको बताए।
‘हामीले अवैध संरचना हटाइरहेका थियौं। सोही क्रममा टेकु पुगेका थियौं। हामी जानेबित्तिकै व्यवसायीहरूले सिसाको बोत्तल प्रहार गर्न थाले। जसका कारण हाम्रा दुई प्रहरी घाइते भए। आत्मसुरक्षाका क्रममा केही व्यवसायी पनि घाइते भएका छन्,’ जोशीले बताए।