काठमाडौँ | ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुटिएको घटनामा प्रहरीले नै छानबिनको सामना गर्नुपर्ने अवस्था आएको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो।
यसै दबाबका कारण अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित केही विद्यार्थी नेताहरु पक्राउ परिसकेका छन्। तर, सो भिडिओ कसरी र किन सार्वजनिक भयो भन्ने विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको छ।
प्रहरी स्रोतका अनुसार प्रहरीले कुटपिट खाएको भिडिओ सार्वजनिक भएसँगै सामाजिक सञ्जाल, मिडियादेखि संसदसम्म यो विषयले चर्चा पायो। चौतर्फी दबाबपछि अनेरास्ववियुका नेताहरु पक्राउ परे। तर, प्रहरी प्रधान कार्यालयको निर्देशनपछि अब भिडिओ सार्वजनिक गर्ने प्रहरीमाथि नै छानबिन सुरु गरिएको छ। परिसरका एक अधिकारी भन्छन्, ‘यो छानबिन हाम्रोवशमा मात्रै छैन । माथिल्लो तहबाट नै छानबिन गर्न भन्दै लिखत निर्देशन आएपछि छानबिन गर्न लागिएको हो ।’
२४ माघको राति ठमेलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले आक्रमण गरेको थियो। दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टिमलाई सो समूहले कुटपिट गरेको थियो।
प्रहरीका अनुसार मध्यराति हो-हल्ला गर्दै हिँडिरहेका ती नेतालाई सम्झाउने क्रममा विवाद सुरु भएको थियो। कुटपिटका क्रममा प्रहरीको बर्दी च्यातिएको, हेल्मेट खोलेर हिर्काइएको र मोटरसाइकल लडाइएको थियो।
यस घटनामा संलग्न भएको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परिसकेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना अनेरास्ववियुसँग आबद्ध विद्यार्थी हुन्। तर, पक्राउ पुर्जी जारी गरिएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्।