एजेन्सी | अमेरिकाको टेक्सासमा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ ट्रम्पको अवैध आप्रवासी निकाल्ने नीतिको डरका कारण ११ वर्षीया जोसेलिन रोजो कारान्जाले आत्महत्या गरेकी छिन्। जनवरी २० देखि कार्यभार सम्हालेयता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषणा गरेका थिए ।
विद्यालयमा आफ्नो परिवारको अध्यागमन अवस्थाका कारण उनका साथिहरूले उनलाई लगातार जिस्काउने गरेपछि उनले आत्महत्या गरेको खुलेको हो । रिपोर्टहरू अनुसार, जोसेलिनलाई उनका साथिहरूले बारम्बार दुर्व्यवहार गर्दथे। उनीहरूले उनलाई “अब तिम्रा आमाबुबालाई देश निकाला गरिन्छ र तिमी एक्लै छाडिन्छ्यौ” भन्ने डर देखाउने गरेका थिए। यस्तो निरन्तर मनोवैज्ञानिक दबाबकै कारण उनले आत्महत्या गरेको खुलाशा भएको छ ।
जोसेलिनकी आमा मार्बेला कारान्जाले छोरीले यस्तो ठूलो समस्या सामना गरिरहेको आफूले कहिल्यै थाहा नपाएको बताएकि छिन्। अनुसन्धानबाट खुलेअनुसार, जोसेलिन स्कुल काउन्सिलरलाई नियमित भेट्न जान्थिन् र दुर्व्यवहारबारे बताउँथिन्। तर विद्यालयले यो जानकारी उनको परिवारलाई कहिल्यै दिएन।
अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भए पनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुल माथि जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेको जनाएको छ। तर परिवारलाई किन जानकारी दिइएन भन्ने विषयमा कुनै आधिकारिक बयान दिइएको छैन।
जोसेलिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवार माथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्ब्याबहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।
साथै, आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ ।