सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको पनि उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।
मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने बताए ।
अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेस सरकार गठन गरिएको र पार्टीभित्र पहिलोपटक मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए । झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए ।