११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

११ भाद्र २०७४, आईतवार ०९:१९

श्याम रिमाल। भदौ ११,काठमाडौँ। रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले 

कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि भएको हुनुपर्छ । 

बीस वर्षदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी लिम्बू आफू पनि परिपक्वतातिर उन्मुख भइरहनुभएको छ । यसै मेसोमा उहाँ आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा उहाँ ‘समाहित’ शीर्षकमा अमूर्त कलाहरुको पोको लिएर आउनुभएको छ । 

काम गर्दै जाँदा उहाँ पहिले आफ्ना चिन्तनका सामग्रीहरु तयार गर्नुहुन्छ जुन अक्षर र खेस्रा चित्र दुवै हुन्छन् । कुन कुन रङ कहाँ कहाँ राख्ने, कसरी कलात्मक बनाउने जस्ता चिन्तन र मनभित्रका अन्तद्र्वन्द्व जस्ता विषय उहाँ कागजमा लेख्दै खेस्रा चित्र बनाउँदै जानुहुन्छ । तिनै प्राथमिक विचारलाई अक्षर र कलालाई खेस्राका रुपमा कोरिएका सामग्री पनि उहाँले जम्मा गर्नुभएको छ र प्रदर्शनी कक्षको ढोकैनिर राख्नुभएको छ । 

सानामा ५ इन्च × ८ इन्चदेखि ठूलामा १० फिट × ६ फिटसम्मका ती चित्रहरु स्वस्तिक चिह्नका रुपमा देखिन्छन् जुन मान्द्रामा एक चोया अर्कामा जेलिएका जस्ता देखिन्छन् । त्यसलाई लिम्बू विचार वा भावना तथा परिवेश एक अर्कामा ‘समाहित’ भएको बताउनुहुन्छ । एकले अर्कालाई चिन्न दुई जनाको भावना अर्कामा अन्तरघुलन वा समाहित हुनैपर्छ”, उहाँ भन्नुहुन्छ, “ शिव र पार्वती जब अर्धनारीश्वर हुनुमा यही टु इन वन सिद्धान्तले काम गरेको छ ।” रङमा काम गर्दै जाँदा विचारहरु आइरहने र विस्तारै अमूर्ततामा जाने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै एउटा रङ अर्कामा प्रवेश गर्ने, एक परिवेशबाट अर्कामा जाने तथा दृश्यात्मकताबाट आवरणहीनतामा जाने काम स्वाभाविक रुपमा हुन्छ । 

‘सहज स्वीकार’, ‘स्वीकार’ र ‘समाहित’ शीर्षकका ती चित्रको मूल्य रु दुई हजार ५०० देखि रु तीन लाख २५ हजारसम्म छ । चित्रहरु कागजमा तैल रङमा बनाइएका छन् । हरियो, पहेँलो, कालो, सेतो, रातो, खरानी सबै रङमा काम गर्नुभएका लिम्बूले एक विचार वा परिवेश अर्काबाट फरक गराउन विरोधी रङहरुको प्रयोग गर्नुभएको छ । खरानी रङ चाहिँ साधुत्वको प्रतीक भएको उहाँको मान्यता छ । चित्रकारले ठूलो मात्र होइन सानो चित्र पनि बनाउन जान्नुपर्छ भन्ने धारणा उहाँको छ । “चित्रकारले सूक्ष्मतातिर पनि तरङ्गित हुन जान्नुपर्छ” उहाँले भन्नुभयो । सानामा अझ जीवन्तता पाइने उहाँको अनुभूति र अनुभव छ । साना चित्रहरु कोसेलीका रुपमा कसैलाई दिन सकिने उहाँ बताउनुहुन्छ । 

एउटा चित्र बनाउन उहाँलाई करिब तीन घण्टा लागेको छ र पूरा रङ सुक्न १५ दिन लाग्छ । हिन्दूधर्म, बौद्धदर्शन र ‘महाभारत’ तथा खप्तड स्वामी, जे कृष्णमूर्ति र ओशोका विचार विशेष अध्ययन गर्न मन पराउने ४२ वर्षीय लिम्बू देवकोटाको ‘कला र जीवन’ भन्ने लेखबाट निकै प्रभावित हुनुभएको छ । डिपी भण्डारीका लेख पनि उहाँ त्यत्तिकै मन पराउनुहुन्छ । “मलाई कलामा अघि बढ्न दर्शनको अध्ययनबाट निकै मद्दत मिलेको छ”, कलामा स्नातकोत्तर लिम्बूले भन्नुभयो । प्रदर्शनी यही भदौ १८ गतेसम्म चल्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह