काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि चाहिने उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित केन्द्रका ५ कर्मचारी र एक जना ठेकेदार तथा ठेकेदार कम्पनीविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गुरुयोजना बिना नै मिलेमतोमा केन्द्रका पदाधिकारी तथा कर्मचारी र ठेकेदारको मिलेमतोमा ३० करोड ९९ लाख ९ सय ९९ रुपैयाँको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेकामा केन्द्रले १५ माघ २०७६ मा उक्त ठेक्का कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजार ७ सय ६३ रुपैयाँमा ठेक्का सुम्पिएको थियो ।