2026-07-25 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’

काठमाडौँ | मानवअधिकारसम्बन्धी तेस्रो विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ ।

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा तेस्रो विश्वव्यापी आवधिक समीक्षा (युपिआर) प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनको अवस्था र चौथो समीक्षा तयारीबारे छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तुत विवरणअनुसार तेस्रो समीक्षाका अधिकांश सुझाव नेपालले कार्यान्वयन गर्न सकेको छैन भने आगामी चौथो समीक्षाका लागि पर्याप्त पूर्वतयारीसमेत भएको छैन ।

सन् २०२६ मा नेपालको चौथो चक्रको विश्वव्यापी मानव अधिकार समीक्षा हुँदैछ । त्यसका लागि नेपालका तर्फबाट राष्ट्रिय प्रतिवेदन तयार पारी आगामी अक्टोबर ५ भित्र संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा पठाइसक्नुपर्ने हुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्धारित समयभित्रै प्रतिवेदन पेस गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । “हामी सबै निकायसँगको समन्वयमा चौथो प्रतिवेदन तोकिएको समयभित्रै पेस गर्नेगरी अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तै, संविधानमा भएका व्यवस्था कार्यान्वयनका लागि कानुन चाँडो निर्माण गर्ने, योजना तथा नीति कार्यान्वयनका लागि पर्याप्त संरचना निर्माण र बजेट छुट्याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ छ ।

सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन नेपालले उल्लेख्य काम गरेको दाबी गर्नुभयो । “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन निर्माण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन जस्ता महत्त्वपूर्ण काम भएका छन् । मानव अधिकारसँग जोडिएका अरू विभिन्न कानुन निर्माणका लागि पनि सम्बन्धित विषयगत मन्त्रालयसँग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो ।

बैठकमा मुख्यसचिव एकनारायण अर्यालले मानव अधिकारसम्बन्धी तेस्रो आवधिक समीक्षाबाट दिइएका सुझाव कार्यान्वयन अवस्थाबारे समितिलाई जानकारी गराउनुभएको थियो । “नेपालले उक्त प्रतिवेदनमार्फत १९६ बुँदा कार्यान्वयन गर्ने भनेर प्रतिबद्धता जनाएकामा १६ वटा मात्रै पूर्ण कार्यान्वयन हुन सकेका छन् । बाँकी १० वटा आंशिक, १११ वटा कार्यान्वयनको विभिन्न चरणमा रहेका र १० वटा कार्यान्वयन नै हुन नसकेको अवस्थामा छन् । ३७ वटा बुँदा नेपालले आफ्नो जानकारीमा मात्रै लिएको थियो”, उहाँले भन्नुभयो ।

नेपालमा मानवअधिकारसम्बन्धी विभिन्न विषयमध्ये मुख्यगरी लैङ्गिक विभेद, बालश्रम तथा बालविवाह, जातीय छुवाछूत, द्वन्द्वपीडित र सङ्क्रमणकालीन न्याय, गरिबी निवारण, अपाङ्गता भएका व्यक्तिको अधिकार, मानव बेचबिखन जस्ता विषयबारे समीक्षाका क्रममा प्राथमिकताका साथ केही विषय औँल्याइएको मुख्यसचिव अर्यालको भनाइ छ ।

छलफलका क्रममा सांसदहरूले मानवअधिकारसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान पूर्ण कार्यान्वयनमा आउन नसकेको, दलित तथा अल्पसङ्ख्यकको हक अधिकार सुनिश्चित हुन नसकेको, छुवाछूत तथा जातीय भेदभाव हट्न नसकेकालगायत विषय उठाउनुभएको थियो ।

यसैगरी, नागरिकले संविधानद्वारा प्रत्याभूत गरिएका शिक्षा, स्वास्थ्य, रोजगार, आवासलगायत मौलिक हक पाउन नसकेको विषय पनि समितिमा उठाइएको थियो । चौथो समीक्षाका लागि नेपाल सरकारका तर्फबाट, राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट र गैरसरकारी संस्थाहरूबाट छुट्टाछुट्टै प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा जाने भएकाले सबै प्रतिवेदन बुझाउनु अघि आपसमा सहकार्य गर्ने र विषयवस्तुमा एकरुपता कायम गर्नका लागि छलफल गरिनुपर्ने धारणासमेत राखिएको थियो ।

संयुक्त राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रलाई समीक्षाका लागि पालैपालो छान्ने गरिन्छ । जसले गर्दा हरेक सदस्य राष्ट्रको प्रत्येक साढे चार वर्षमा अनिवार्य रूपमा समीक्षा हुन्छ । नेपालको यसअघि सन् २०११ मा पहिलो, सन् २०१५ मा दोस्रो र सन् २०२० मा तेस्रोपटक आवधिक समीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली