
काठमाडौं। बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने उनीहरूलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको हो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ ।
आगलागीमा परी बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना घाइते भएका छन् । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा घाइते भएका शिवप्रसाद चमार र रामदिन हरिजनलाई बिहान पौने ९ बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । अन्य घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।
१. बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार (मध्यम अवस्था)
२. सोही ठाउँका २२ वर्षीय रामदिन हरिजन (मध्यम अवस्था)
३. सोही ठाउँका २४ वर्षीय प्रेम धोबी (सामान्य अवस्था)
४. सोही ठाउँका २९ वर्षीय दिलीपकुमार यादव (सामान्य अवस्था)
५. सोही ठाउँका ३५ वर्षीय लक्ष्मीराम यादव (सामान्य अवस्था)
६. भारतको बहराइच जिल्ला, कठौतियाका २९ वर्षीय राजकुमार निषाद (सामान्य अवस्था)
७. सोही ठाउँका २४ वर्षीय नशिवकुमार निषाद (सामान्य अवस्था)
८. सोही ठाउँका २५ वर्षीय विनोदकुमार निषाद (सामान्य अवस्था)
आगलागीबाट कम्पनीमा भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।