काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का लागेको छ । एक संघीय अदालतले बुधबार अमेरिकामा जन्मिने गैरकानुनी वा अस्थायी आप्रवासीका बच्चालाई नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको योजनालाई असंवैधानिक घोषणा गरेको छ ।
तीन न्यायाधीशको इजलासले ट्रम्पको आदेश संविधानविपरीत रहेको ठहर गरेको हो । “तल्लो अदालतको राष्ट्रपतिको आदेश अमेरिकी संविधानको उल्लंघन हो भन्ने निष्कर्ष सही छ । हामी त्यससँग पूर्णतः सहमत छौँ,” अदालतले भनेको छ, “संविधानको अवहेलना केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन ।”
यसअघि सियाटलका जिल्ला न्यायाधीश जोन सी. कगनरले नै ट्रम्पको आदेशमा रोक लगाएका थिए ।
यस मुद्दामा अमेरिकी संविधानको १४औँ संशोधन अन्तर्गतको सिटिजनसिप क्लज प्रमुख आधार बनाइएको थियो । जसले भन्छ, “जो कोही व्यक्ति अमेरिकामा जन्मिन्छ वा कानुनीरूपमा नागरिकता प्राप्त गर्छ, ऊ अमेरिकी नागरिक हो ।”
ट्रम्प प्रशासनको ‘अमेरिकी जुरिस्डिक्सन’को अर्थ केवल अमेरिकामा जन्मिनुमात्र होइन । सँगै बालबालिकाका अभिभावकको कानुनीस्थिति पनि महत्त्वपूर्ण हुन्छ भन्ने तर्क थियो ।
वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यले अदालतमा दायर रिट निवदेनमा अमेरिकाका केही राज्यमा जन्मसिद्ध नागरिकता लागु भए र अन्य राज्यमा नभए अराजकता फैलिन सक्ने तर्क गरेका थिए ।
अदालतले यस तर्कलाई स्वीकार्दै ट्रम्पको आदेश देशभर लागु गर्न नपाइने निर्णयलाई कायम राखेको हो । यस मुद्दामा ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायले बहुमतको निर्णयसँग असहमति जनाएका छन् । “राज्यहरूलाई यस्तो मुद्दा दायर गर्न कानुनी अधिकार छैन,” उनले भने ।
यद्यपि, उनले ट्रम्पको आदेश संविधानसम्मत हो वा होइन भन्नेबारे केही टिप्पणी गरेका छैनन् ।
यो फैसलापछि ट्रम्प प्रशासन वा उनका समर्थकहरूले सुप्रिम कोर्ट (सर्वोच्च अदालत) मा अपिल गर्न सक्ने बताइएको छ । तर, हालका लागि ट्रम्पको आदेश निलम्बित नै रहने र अमेरिकामा जन्मसिद्ध नागरिकताको व्यवस्था पहिलेझैँ प्रभावकारीरूपमा लागु हुने बताइएको छ ।
यससम्बन्धी अमेरिकाभर नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका बताइएको छ ।