काठमाडौँ | नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवरण आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ । पार्टीको सक्रिय राजनीतिमा फर्किने प्रयासमा रहेकी भण्डारीलाई सदस्यता नदिने केन्द्रीय कमिटीको निर्णयलगत्तै उनको विवरण पार्टीको अनलाइन प्रणालीबाट हटाइएको हो ।

एमालेको वेबसाइटमा रहेको ‘सदस्य खोज्नुहोस्’ अप्सनमा भण्डारीको नाम वा उनको पुरानो सदस्यता नम्बरबाट खोज्दा ‘कुनैपनी डाटा भेटिएन’ भन्ने सन्देश देखिन्छ । योसँगै पार्टीले उनलाई औपचारिक र प्राविधिक दुवै रूपमा सदस्यको सूचीबाट बाहिर राखेको सङ्केत दिएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा मंगलबार केन्द्रीय समितिको बैठकलगत्तै मध्यराति वेबसाइटमा भण्डारीको सदस्यता विवरण हटेको आफूले थाहा पाएको बताए ।
“भण्डारीले २०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४४ नम्बरमा पार्टी सदस्यता छ । वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु,” पोखरेलले भने ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र पूर्वराष्ट्रपति भण्डारी पक्षबिच केही समययता शक्ति सङ्घर्ष चल्दै आएको छ ।