काठमाडौँ | खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि अनशन थालेका छन् । तीनदिने सत्याग्रहमा पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले आजदेखि अनशन थालेका हुन् ।
“तीनदिने सत्याग्रहपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छु,” उनले भने ।
उनले सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका थिए । मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेका छन् ।
यसैबीच, आज मेयर भट्टराई र सरकार पक्षबीच आज माइतीघरमै वार्ता भएको छ । वार्ता सकारात्मक रहेको भट्टराईका सहयोगीले जानकारी दिएका छन् ।
“यद्यपि, सत्याग्रह तथा आन्दोलनका माग सम्बोधन हुने गरी ठोस निर्णय हुन बाँकी छ । आगामी वार्ताबाट छिट्टै नै हामी हाम्रो माग सम्बोधन हुनेमा आशावादी छौँ,” उनको सहयोगी समूहले भनेको छ ।