काठमाडौँ | नेपाली कांग्रेस बाग्मती प्रदेशको संसदीय दलको नेतामा निर्वाचित भएपछि इन्द्र बानियाँले लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताएका छन् । लोकतन्त्रमा दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन नसके पार्टी कमजोर हुन सक्ने भएकाले नेतृत्व परिवर्तनको आवश्यकता पर्ने उनको भनाइ छ ।
बानियाँले पार्टीभित्रको विश्वासलाई मजबुत बनाउने उद्देश्यले कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको बताए ।
बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले दलको नेताको हैसियत समाप्त भइसकेकाले मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे ।
“मार्गप्रशस्त गरे परिस्थिति सहज ढंगले अघि बढ्छ । त्यसो हुन नसके लोकतान्त्रिक अभ्यासअनुसार पद्धति र प्रक्रिया अपनाएर सहज रूपमा बिदाइ गर्छौं,” उनले भने ।