काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
उक्त पूर्ण खोप घोषणा गर्दै प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए । उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै त्यसको एउटा उपाय खोप नै भएको बताए । ‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु ।’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नती हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।’
पूर्ण खोप घोषणा भएकोमा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए । उनले नेपालमा मानिसका साथै पशुपंक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गरे । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए ।