काठमाडौँ | सहकारी डुबाएर खोलिएको दल भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति नेकपा एमालेका सांसदले कडा टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद दयालबहादुर शाहीले रास्वपालाई सहकारी डुबाएर खोलिएको पार्टी भनेर कटाक्ष गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलाई उनले भगौडाको संज्ञा दिए । ‘संकटकालमा देश छाडेर विदेश गएको भगौडाले नयाँ पार्टी खोले र सहकारी डुबाएर पार्टी खोले । तामझासहित जीबीको पैसाले बर्खाका च्याउ उम्रिए,’ शाहीले भने ।
नेपालमा माओवादी जनयुद्ध शुरू भएपछि लागेको संकटकालका बेला लामिछाने अमेरिका गएकोतर्फ कटाक्ष गर्दै शाहीले भगौडाको संज्ञा दिएका हुन् । सांसद शाहीले कुनै योगदान र निष्ठा नभएकाले रास्वपाले संसद् बहिष्कार गरेको टिप्पणी गरे ।
‘संसद् बहिष्कारको आवाज छ । जसलाई निष्ठा हुँदैन, उसले बहिष्कार गर्छ । बहिष्कारवादीको गुरु माओवादी अर्काको पार्टीको धमिलोमा दाउ हेरिरहेको छ ।’