काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता नियोग(एमसिसी) जस्ताको तस्तै अनुमोदन हुनबाट रोक्न धेरै प्रयास गर्नुपरेको दाबी गरेका छन्। बुधबार ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।
‘त्यति बेला हामी नेकपा माओवादी केन्द्र थिएनौँ, नेकपा थियौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भएको बेला थियो,’ दाहालले स्मरण गर्दै भने,‘यो विषयमा निकै चर्चा चलेको र यो विषयमा पार्टीले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ भनेर किनकि पार्टीमा सबैको बुझाई एकै खालको थिएन। त्यस कारण एकै किसिमको धारणा बनाउनुपर्छ भन्ने छलफल चलेको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ।’
त्यो पनि नेकपा भएपछि कार्यकारी अध्यक्षमा रूपमा आफूले अध्यक्षता गरेको एक मात्रै बैठक रहेको उनले बताए। ‘त्यही बैठकबाट मेरै प्रस्तावमा यो बारेमा अध्ययन गरेर सुझाव प्रतिवेदन पेस गर्ने भनेर एउटा केन्द्रीय कार्यदल पनि बनेको थियो,’ अध्यक्ष दाहालले भने।
त्यो कार्यदलले अध्ययन गरेर कार्यदल बुझाएको पनि उनले स्मरण गरे। उनले भने, ‘जो यथास्थितिमा एमसिसीलाई अनुमोदन गर्न हुँदैन, यो राष्ट्रका हितमा छैन सारसहितको प्रतिवेदन कार्यदलले बुझाएको थियो।’
एमसिसीलाई रोक्न त्यो बेला आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गर्ने प्रमुख पार्टी नेकपा माअोवादी केन्द्र नै रहेको दाहालले दाबी गरे। एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या अहिले गर्न सम्भव पनि छैन, अब आवश्यक पनि छैन,’ उनले भने।