काठमाडौँ | गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् ।
आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको बताए ।
“अहिले आमाहरू विदेश जाने गर्नुभएको छ । विदेशमा बच्चा जन्मिन्छ वा गर्भधान भएर स्वदेश फर्किनुहुन्छ । तर, बुबाको पत्तो हुँदैन आमा फर्किनुहुन्छ । त्यसरी विदेशमा सन्तान जन्मियो वा नेपाल फर्किएर जन्मियो भने के गर्ने ? यो ठूलो प्रश्न हो । यदि सन्तानले विदेशको नागरिकता लिएको छैन भने आमा र सन्तानको दुवैको अधिकार सुरक्षित गर्न आमाको स्वघोषणाको आधारमा अंगीकृत नागरिकता दिने व्यवस्था गरेका छौँ,” उनले भने ।
उनले आमाको नामबाट नागरिकता पाउने विषयलाई अहिले विधेयकमा सरलीकृत गरिएको दाबी गरे ।
“बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका लागि सहयोग गर्नुभएको छैन भने आमाकै नामबाट नागरिकता दिने व्यवस्था हामीले गरेका छौँ । बुबा बेपत्ता हुनुहुन्छ वा उहाँले अर्को विवाह गरेर जानुभएको छ भने सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था गरिएको हो । बुबाले आफ्ना सन्तानलाई अपनत्व नगरेको र आवश्यक स्नेह दिएको छैन भने बाबुलाई बाबु मान्नैपर्छ भन्ने हुँदैन,” उनले भने ।
गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताए ।
“सर्वोच्च अदालत र अदालतबाट समेत सरकारको नाममा समेत निर्देशन दिने आदेश भएको छ । आमाले स्वघोषणा गर्यो भने पनि सन्तानलाई नागरिकता उपलब्ध गराउने विधेयकको मूल ध्येय हो । महिलाको हकलाई कसरी स्थापित गर्न सकिन्छ भनेर संविधानको भावनाअनुरूप जाने सरकारको सोच हो,” उनले भने ।