अधिवक्ता ओमप्रकाश अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीनिकटका अनुसार आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङ गरिरहेका छन् । गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् ।
अर्यालको उक्त तयारीले रुपन्देहीको चुनाव थप रोचक हुने अनुमान गरिएको छ । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनका कानुनी सल्लाहकार हुन् । महानगरविरुद्धका मुद्दाहरूमा अर्यालले कानुनी र रणनीतिक सल्लाह प्रदान गर्दै आएका थिए । स्रोतका अनुसार चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका छन् । सार्वजनिक सम्पत्ति संरक्षण जगेर्नामा अर्याल विगतदेखि नै सक्रिय छन् ।
अर्यालले कुनै पनि राजनीतिक दलहरूको समर्थनबिना चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।उनले रपन्देहीको चुनावलाई प्रभावमा पार्न सक्ने काठमाडौंका प्रभावशाली व्यक्तिहरूसँगको भेटघाट तीव्र पारिरहेका छन् भने उक्त क्षेत्रका मतदाताहरूसँग पनि प्रतिक्रिया लिइरहेका छन् ।
रुपन्देही– ३ बाट निर्वाचित सांसद दीपक बोहराको गत १९ चैतमा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनी चुनावअघिदेखि नै पोस्ट–कोभिड संक्रमणले थला परेका थिए । रुपन्देही– ३ मा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत दलहरूले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्कीजस्तै भएको नेताहरूले जानकारी दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसले उम्मेदवार चयनको प्रक्रिया अघि बढाएको छ भने रास्वपा पनि उम्मेदवार छनोटको प्रक्रियामा छ ।