काठमाडौँ | उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने घोषणा रहेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। राजमार्ग अवरुद्ध हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हुने उनीहरुको भनाई छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ।’
किसानले पाउनुपर्ने अनुदान रकमलाई गैर जिम्मेवार ढङ्गबाट कटौती गरिनु अत्यन्त निन्दनीय कदम रहेको उनीहरुको भनाई छ। ‘सरकार भनेको आम जनताको अभिभावक हो तर पटक पटक आम मेहनती किसानलाई धोका दिनु भनेको किसानको आत्म सम्मानमा ठेस पुराउनु हो’ विज्ञप्तिमा भनिएको छ। उनीहरुले आज पनि माइतिघर मण्डलामा धर्ना दिएका छन्।