काठमाडौँ | कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा नेपाल उराँव संघले आयोजना गरेको करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै देउवाले उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे । उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय तथा प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने उनले बताए ।
उराँव समुदायको उत्थानकै लागि कांग्रेसले नेपाल उराँव संघ गठन गरेको देउवाको भनाइ थियो । तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको जातिमध्येको उराँव एक हो । शिक्षा र स्वास्थ्य अभावका कारणले पछि पर्दै आएको यो जाति सुनसरीमा ४० हजारको हाराहारीमा रहेका छन् ।