काठमाडौँ | कर्फ्यु आदेश जारी भएपनि अहिले संसद् भवनमा जेन जी पुस्ताका युवाहरुको प्रदर्शन जारी छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरसम्म आएको प्रदर्शन प्रहरीको सुरक्षा घेरा तोड्दै संसद् भवन पुगेको थियो । केही प्रदर्शनकारी संसद् भवनमासमेत प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
तर, प्रदर्शनकारी भने अझै नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरुमा बानेश्वर क्षेत्रका लागि कर्फ्यु आदेश जारी गरेकोमा पछि अन्य क्षेत्रमा पनि कर्फ्यु बढाएका छन् । राष्ट्रपति भवन रहेको महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति भवन लैनचौर क्षेत्र, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्र र नारायणहिटी क्षेत्रमा अहिले १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएका हुन् ।