काठमाडौँ | बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ? आन्दोलनमा जान्छु भन्दा ‘नजाऊ’ भन्नुहोला भनेर हुनुपर्छ जेनजी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भन्नुभएन । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्नुहुन्छ ।
नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्नुहुन्थ्यो । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा हुनुहुन्थ्यो । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसक्नुभएको थियो । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्नुहुन्थ्यो ।
‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेनजी आन्दोलनमा क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर दुःखद् अन्त्य भएको थियो । निधनको खबर ‘टिकटिक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए । आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रून थाल्नुभयो । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको थियो ।
बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताउनुभयो । छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीसँग राससका लागि संवाद गर्दै भन्नुभयो, “साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।”
उहाँले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भन्नुहुन्छ, “सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ…। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।” विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।
शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बस्नुभएको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उहाँहरुको परिवारलाई एकप्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा हुनुहुन्थ्यो । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ÷दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्नुहुन्छ । मल हाल्न र पानी लगाउनसके धान, गुहुँको उत्पादन ठिकै हुन्छ ।
कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बस्नुभएको छ । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६÷१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्नुहुन्छ, “मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद् घटनामा परेर बित्नुभयो… ।”
शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले राससलाई बताउनुभयो । बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहनुभएको थियो । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो ।
नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरुलाई पनि थाहा हुन नसकेको बताउनुहुन्छ । “ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो”, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भन्नुभयो, “छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद् घटना भयो ।” परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरुलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ ।
विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ ।
काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरु कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । तर जेनजी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरु गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्नसक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ ।