
काठमाडौँ | जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैयाँ बिगो माग गरिएको छ। आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाएर १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरेको आरोप छ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ। सोही आधारमा उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो।