
काठमाडौँ | नेपाली काँग्रेस गगन समूहका सभापति गगन थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना तयार गरी क्यालेन्डरअनुसार पार्टी सञ्चालन गर्ने बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि उनले बिहीबार महाधिवेशनबाट पारित नीति तथा सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर अघि बढ्ने बताएका हुन् ।
थापाले संगठनका नीति र सुधारका कार्ययोजनालाई समेटेर एकीकृत कार्ययोजना तयार गर्ने निर्णय गर्नुपर्ने भन्दै उक्त कार्ययोजना पार्टी कार्यालयले तयार पार्ने र आगामी बैठकमा पेस गरिने बताए । उनले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई पार्टीका नेता–कार्यकर्ता र आम नागरिकसम्म पुर्याउनुपर्ने बताए । थापाले वडा तहका पार्टी सदस्यदेखि समर्थक र आम नागरिकसम्म पार्टीले लिएका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुपर्ने बताए । मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ भन्ने विशेष अभियान सञ्चालन गर्ने थापाले घोषणा गरे । महाधिवेशनबाट पारित विषयलाई दस्तावेजीकरण गर्नुका साथै मुलुकका वर्तमान समस्या समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न पार्टी तयार रहेको सन्देश अभियानमार्फत नागरिकसमक्ष पुर्याइने उनले बताए।
थापाले भने, ‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो। कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ।’