
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले काठमाडौँलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो । अरिफुल इस्लामले ४४ रन जोडे । २१ बल खेलेका उनले ५ चौका र तीन छक्का प्रहार गरे । यस्तै हुसैन तलतले ४० रन बनाए । अन्तिमतिर ब्याटिङमा आएका गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २० रन जोडे ।
पवन सर्राफ ३० बलमा नटआउट रहे । मार्क वाटले १७ रन जोडे । कर्णालीले अतिरिक्त १३ रन पायो । बलिङतर्फ काठमाडौँका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक एक विकेट लिए । दुई खेलमा दुई जितसहित कर्णाली अङ्कतालिकाको शीर्षस्थानमा छ भने एक खेल खेलेको काठमाडौँ अङ्कबिहिन रहँदै तालिकाको पुछारमा छ ।