
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले लोकतन्त्र र संविधानको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको बताएका हुन्। सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘एउटा कुरा म के स्पष्ट पार्छु भने- ‘संविधानभन्दा माथि र डेमोक्रेसी (लोकतन्त्र) भन्दा ठुलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ। यसमा कहिले पनि कसैले दुविधा गर्नुपर्दैन।’
सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने क्रियाकलाप गर्ने जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र जिम्मेवारी लिनुपर्ने बताए। ‘यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो-कसैले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्नेछ र त्यसले जिम्मेवारी लिनुपर्नेछ,’ लामिछानेले भने, ‘संविधानलाई नै बेवास्ता गर्ने तथा संविधान प्रदत्त अधिकारलाई नै हवाला दिने किसिमको क्रियाकलाप गर्ने जोसुकै होस्, ऊ जबाफदेही हुनैपर्छ।’
उनले यस विषयमा पार्टीको आन्तरिक छलफलबाट थप आधिकारिक निर्णय समेत सार्वजनिक गरिने जानकारी दिएका छन्।