
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरूले सरकारलाई असहयोग गर्न नखोजेको बताएका छन् । पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका पौडेलले सरकारले गलत काम गरे प्रतिपक्षले प्रश्न उठाउने बताए । “निर्वाचित सरकारलाई असहयोग गर्न खोजेका पनि छैनौँ । सरकार पाँच वर्ष चलोस् । सरकारले राम्रा काम गर्यो भने हामी त्यसलाई समर्थन गर्छौं,” पौडेलले भने, “तर, सरकार बिचौलियाहरूसँग जोडिन्छ र विभिन्न खाले विषय बाहिर आउँछन् भने त्यसको छानबिन गर्नुपर्छ भनेर प्रतिपक्षले भन्न नमिल्ने ?”
सरकारसँग सम्बन्धित पछिल्ला प्रकरणहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने पौडेलको माग छ । बाहिर आएका सबै विषय सत्य नै हुन् भन्ने कांग्रेसको दाबी नरहे पनि सत्यतथ्य पत्ता लगाउन छानबिन आवश्यक रहेको बताए । “बाहिर आएका सबै विषय सत्य हुन् भन्ने हाम्रो भनाइ होइन । ती सत्य हुन् वा होइनन् भन्नेबारे छानबिन त गर्नुपर्यो । गहिराइमा पुगेर छानबिन गर्नुपर्यो,” उनले भने, “हिजोका विषय पनि आएका थिए, आजका विषय पनि आएका छन् । हिजोका विषय छानबिन गर्यौँ, आजका विषय पनि छानबिन गरौँ ।”
इनाम सापकोटासँग कांग्रेसलाई जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको दाबी छ । यसरी जोडिएको विषयबाट कांग्रेस नडराउने पनि उनले बताए । लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार हुँदा कांग्रेसले सधैँ प्रश्न उठाउने उनको भनाइ छ । “कांग्रेसले लोकतन्त्रमाथि प्रहार हुँदा प्रतिप्रश्न गर्ने गरेको छ । कांग्रेसले मात्रै त्यो प्रश्न गर्न सक्छ । प्रेस स्वतन्त्रता कांग्रेसले मात्रै जोगाउन सक्छ । प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस मात्रै बोल्न सक्छ,” उनले भने । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर खानतलासी गर्नु र पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गर्नु गलत भएको उनको भनाइ छ । “त्यो गैरकानुनी हो । नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । संवैधानिक व्यवस्थाविरुद्ध कोही जान्छ भने किन गएको हो ? जान मिल्दैन । जानेहरूलाई कारबाही गर्नुपर्छ,” उनले भने ।