
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३२ वर्षीय सोनुकुमार सिन्हालाई नियन्त्रणमा लिएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणमा अनलाइनमार्फत सट्टेबाजी गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
सो क्रममा प्रहरीले भारतको बिहार राज्य घर भई काठमाडौँको ठमेल बस्ने सिन्हालाई समातेको हो । उनको साथमा रहेको ईलेक्ट्रोनिक डिभाइस चेकजाँच गर्दा अनलाइन बेटिङ साइट लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँको कारोबार गरेको पाइएको हो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।