
काठमाडौँ | नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए । त्यसअघि भारतका विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
बुधबार बिहान नेपाल आएका विदेश सचिव मिश्री नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १९ गते नयाँदिल्ली फर्कने कार्यक्रम रहेको छ ।