
काठमाडौँ | सर्लाहीस्थित भूमि प्रशासन कार्यालय (मालपोत)का नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे उनलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नासु तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेका थिए । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।