काठमाडौँ | आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरिक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन छिटोमा तिहारपछि सुनुवाइ हुने भएको छ । कार्कीले सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन बिहीबार दर्ता हुन सकेन ।
सर्वोच्चका कर्मचारीहरूले कार्कीका कानुन व्यवसायीहरूलाई ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ सूचना दिइसकेका छन् । निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ । शुक्रबार निवेदन दर्ता भएमा भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।