
काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेतर्फमात्र मात्र केन्द्रित भएको भन्दै कटाक्ष गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आङदेम्बेले १७ महिना कार्यकाल बाँकी छँदै आईजीपीलाई हटाउनुपर्ने सरकारको बाध्यता के हो भन्दै प्रश्न गरेका छन्।
नेता आङदेम्बेले भोटेकोशी र बूढीगण्डकी बाढीका कारण नागरिकहरू पीडामा रहेको, विस्थापित सुकुम्बासीको बेहाल भएको र महँगीले जनजीवन आक्रान्त बनेको अवस्थामा सरकारको प्राथमिकता उल्टो बाटोमा हिँडेको बताएका छन्। ‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?,’ उनले प्रश्न गरे । प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाउन खोजिएको हो भन्दै सरकारसँग जवाफ माग गर्दै उनले सत्तारूढ दलभित्रकै विरोधाभासलाई पनि औंल्याए । ‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?,’ उनले लेखेका छन्।
यसैगरी, उनले प्रहरी अनुसन्धानमाथि भएको गम्भीर राजनीतिक हस्तक्षेपको विषय पनि उठाएका छन्। बिचौलियाको मोबाइल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयमा प्रश्न उठाउँदै उनले भनेका छन्, ‘एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’जनताले सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनजीवन सहज बनाउनका लागि वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै उनले सत्ता शक्तिको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको आरोप लगाएका छन्।