काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै कांग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन्। बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको समेत स्पष्ट पारे। बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उनको भनाइ छ। महामन्त्री पौडेलले सरकारले कांग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न समेत चेतावनी दिए। सरकारले कानूनअनुसार मर्यादामा बस्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो। यसले हामीलाई कुनै पनि प्रकारको असर गर्दैन। हामी कुनै पनि हिसाबले तर्सिदैनौँ। इनम सापकोटासँग सभापतिज्यू कुनै पनि प्रकारको चिनजान नभएको र सम्बन्ध समेत नभएको कुरा हिजोको पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेका छौँ। बरू उहाँ अहिलेका प्रधानमन्त्रीज्यूको चुनावी प्रचारप्रसारमा कति ठाउँमा जानुभयो भनेर सोध्नुस् न। पहिले त सरकारले जे आरोप लगाइरहेको छ त्यो पुष्टि गरोस् न। सरकारले मर्यादामा बस्नु पर्दैन? कानून कार्यान्वयन गर्नुपर्दैन? यस्तो हुन्छ राज्य ? किन पक्राउ गर्ने ? के का लागि पक्राउ गर्ने ? पक्राउ गर्नको लागि त कानूनी आधार होला नि। सरकारले तर्क गर्नुपर्यो त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला। हामीले स्पष्टसँग भनेका छौँ छानविन गर्न रोक्दैनौँ छानबिन गर्नुस्। पक्राउ नै किन गर्ने?’
उनले निष्पक्ष रूपमा अनुसन्धान गर्न पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको भए पनि जबरजस्ती धरपकडको प्रयास गरे प्रतिवाद गर्ने चेतावनी समेत दिए।