अनिल अधिकारी | काठमाडौँ ।
युरोपेली मुलुक रोमानियाले विदेशी कामदार भर्नाका लागि सञ्चालनमा ल्याएको सरकारी अनलाइन पोर्टल ‘वर्क इन रोमानिया’ (Work in Romania) पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । कानुनी विवादका कारण करिब दुई महिनादेखि प्रभावित बनेको विदेशी श्रमिक भर्ना प्रक्रिया बिहिबारदेखि पुनः सुरु भएको हो ।

रोमानियाको आप्रवासन महानिरीक्षक कार्यालय (IGI) ले बिहीबार आधिकारिक सूचना जारी गर्दै यसअघि स्थगित गरिएका रोजगारदाता दर्ता, रोजगारदाताको आधिकारिक अनुमति तथा D/AM2 श्रेणीको दीर्घकालीन रोजगार भिसाका लागि एकीकृत आवेदन पेस गर्ने सबै प्रक्रिया पुनः सञ्चालनमा आएको जनाएको छ ।
यस निर्णयसँगै नेपालसहित युरोपेली संघबाहिरका देशबाट श्रमिक भर्ना गर्न चाहने रोमानियाली रोजगारदातालाई रोकिएका प्रशासनिक प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।
रोमानियामा श्रमिक अभाव भएका पेशाहरूको सूची विस्तार गर्ने तयारीसमेत अघि बढेको छ । यसअघि २८९ पेशा समेटिएको सूचीलाई विस्तार गरी करिब ४०० पुर्याउने प्रस्तावबारे रोमानियाली रोजगारदाता संगठनले जानकारी दिएको छ ।
रोमानियाको सरकारी समाचार संस्था एजरप्रेस (AGERPRES) का अनुसार विदेशी श्रमिक भर्ना क्षेत्रका रोजगारदाता प्रतिनिधिहरूले सूची विस्तारसँगै नयाँ पेशा थप्ने प्रक्रिया पनि सरल बनाइएको जनाएका छन् ।
रोमानियामा विशेषगरी निर्माण, होटल तथा रेस्टुरेन्ट, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा विदेशी कामदारको आवश्यकता रहेको बताइएको छ । यद्यपि, झन्डै ४०० पेशाको सूची विस्तार हुँदैमा ती सबै पेशामा तत्काल नेपाली कामदारको माग खुलेको भन्ने होइन। वास्तविक रोजगारीको अवसर सम्बन्धित रोजगारदाताको माग, कानुनी स्वीकृति र भर्ना प्रक्रियामा निर्भर हुनेछ ।
रोमानियाको श्रम मन्त्रालयले जारी गरेको श्रमिक अभाव भएका पेशाहरूको सूचीसम्बन्धी आदेशविरुद्ध परेको मुद्दामा बुखारेस्टको पुनरावेदन अदालतले आदेशको कार्यान्वयन अस्थायी रूपमा निलम्बन गरेको थियो ।
त्यसपछि गत सेप्टेम्बरदेखि सरकारी पोर्टलमार्फत हुने रोजगारदाता दर्ता, अनुमति तथा निश्चित श्रेणीका विदेशी कामदारको भिसा आवेदन प्रक्रिया प्रभावित भएको थियो ।
कानुनी अवरोध हटाउन सम्बन्धित सरकारी निकाय र रोजगारदाता संगठनबीच छलफल भएपछि पोर्टल पुनः सञ्चालनमा आएको हो ।
रोमानियाका श्रममन्त्री पेट्रे फ्लोरिन मानोलेले पनि नोभेम्बर ११ मा पोर्टल पुनः सञ्चालनमा आएको जानकारी दिएका थिए। त्यसको भोलिपल्ट आप्रवासन महानिरीक्षक कार्यालयले औपचारिक रूपमा सबै रोकिएका प्रक्रिया खुला भएको पुष्टि गरेको हो।
रोमानियाको सरकारी पोर्टल सञ्चालनमा आएपछि नेपाली श्रमिकले पनि रोजगारदाता, वैधानिक कामदार भर्ना एजेन्सी, श्रमिकका अधिकार तथा रोजगारसम्बन्धी प्रक्रियाबारे आधिकारिक जानकारी लिन सक्नेछन् ।
तर यो पोर्टल सामान्य रोजगार वेबसाइटजस्तो श्रमिकले आफ्नो विवरण राखेर सबै कम्पनीका जागिरमा स्वतन्त्र रूपमा आवेदन दिने प्रणाली भने होइन ।
सरकारी व्यवस्था अनुसार विदेशी श्रमिक भर्नाका लागि सम्बन्धित रोजगारदाता वा अनुमति प्राप्त भर्ना एजेन्सीले आवश्यक आवेदन प्रक्रिया अगाडि बढाउँछन् । कानुनी मापदण्ड पूरा गरेका केही रोजगारदाताले सिधै विदेशी कामदार भर्ना गर्ने अनुमति पनि प्राप्त गर्न सक्छन् ।
यसकारण पोर्टल सञ्चालनमा आउनुलाई नेपालबाट तत्कालै व्यक्तिगत रूपमा आवेदन दिएर रोमानिया जान पाइने व्यवस्था सुरु भएको अर्थमा बुझ्नु हुँदैन ।
रोमानियामा रोजगारीको अवसर खोजिरहेका नेपाली श्रमिकले अनधिकृत एजेन्ट तथा बिचौलियाको प्रलोभनबाट जोगिन आवश्यक छ । एजेन्टहरुको अनाधिकृत प्रयोग गरेर अचाक्ली रकम अशुली हुन सक्ने र बिभिन्न भ्रामक जानकारी दिने हुँदा सावधान रहनुपर्छ ।
रोमानियाको सरकारी पोर्टलमा उपलब्ध जानकारीअनुसार त्यहाँका अनुमति प्राप्त कामदार भर्ना एजेन्सीले रोजगारीमा नियुक्त गराइदिएबापत श्रमिकसँग कमिसन वा भर्ना शुल्क लिन पाउँदैनन् । यद्यपि, भिसा, स्वास्थ्य परीक्षण, यात्रा तथा नेपालतर्फका कानुनी प्रक्रियामा लाग्ने खर्च भने लाग्न सक्छ ।
नेपालबाट रोजगारीका लागि जान चाहने श्रमिकले नेपालका सम्बन्धित म्यानपावर कम्पनीको इजाजत, पूर्व श्रम स्वीकृति, रोजगारदाताको विवरण, करारपत्र, तलब तथा सेवा सुविधा जाँच गर्नुपर्छ । कन्सल्टेन्सीहरुलाई बैदेशिक रोजगारमा पठाउने अनुमति नेपालको नीतिले दिदैन भन्ने कुरा स्पष्ट हुनुपर्छ । विशेषगरी रोजगारी सुनिश्चित भएको भन्दै अग्रिम ठूलो रकम माग्ने व्यक्ति वा संस्थाप्रति सावधानी अपनाउनुपर्ने देखिन्छ ।
रोमानियाले विदेशी श्रमिक भर्नालाई व्यवस्थित, पारदर्शी तथा सरकारी निगरानीमा राख्ने उद्देश्यले डिजिटल प्रणाली विकास गरेको छ । यसबाट रोजगारदाताको विवरण, भर्ना एजेन्सीको वैधानिकता, रोजगारीका सर्त तथा आवेदन प्रक्रियाको अवस्था सम्बन्धित निकायले अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।
रोमानियामा काम गर्न इच्छुक नेपाली श्रमिकले आधिकारिक पोर्टलबाट उपलब्ध जानकारी अध्ययन गर्न सक्नेछन् । तर नेपालबाट कामदार पठाउने प्रक्रिया भने नेपालको प्रचलित वैदेशिक रोजगार कानुन, सम्बन्धित रोजगारको माग तथा आवश्यक श्रम स्वीकृतिअनुसार नै पूरा गर्नुपर्नेछ । नेपालमा पनि डिमाण्डको आधिकारिकता बुझ्ने आफ्नै सिस्टम छ ।
थप जानकारीको लागि:
रोमानियाको आधिकारिक रोजगार पोर्टल: https://workinromania.gov.ro
नेपालको वैदेशिक रोजगार विभाग: https://dofe.gov.np
वैदेशिक रोजगारको माग तथा पूर्व स्वीकृति जाँच: https://foreignjob.dofe.gov.np