
काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि ग्रेटर नेपालको नक्सा आफ्नो महानगर कार्यकक्षमा टाँसेको, अहिले भारत भ्रमणमा सीमा विवादमा शब्दै उच्चारण नगरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनबाट पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टी लगायत सरोकारवालाहरुसँग संवाद नभएको, २५ घण्टाका लागि गएर तुरुन्त फर्किने हुँदा त्यसमा राष्ट्रहितका एजेन्डामा गहिरो संवाद हुने अवसर गुमेको टिप्पणी गरे ।
‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले बिहीबार राजधानीमा सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन । जेजति भए, ती विगतमै भइसकेका विषयका निरन्तरता मात्रै हुन् ।’
तर विगतमा जनकपुरमा दिन्छु भनेको, अनि भूकम्पपछिको पुनर्निर्माणमा दिन्छु भनेको सहायता नै नआएका कारण यसपल्ट पनि आर्थिक तथा विकास सहायता आउँछ भनेर मख्ख नपर्न ओलीले सचेत गराए ।