
काठमाडौँ | नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा तथा चुनाव चिन्ह रूखको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन गर्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । मङ्सिर ८ गतेदेखि ११ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिँदै महामन्त्री प्रदीप पौडेलले यस्तो बताएका हुन् । बैठकले यसअघि सार्वजनिक गरिएको ‘हामी तयार छौँ’ अभियान र अवधारणा स्वीकृत गरेको पौडेलले जानकारी दिए । यसको पूर्ण मापदण्ड तथा अवधारणा पछि सार्वजनिक गरिने उनले बताए । त्यस्तै, बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित गरेको छ ।
कार्यक्रम लामो समय चल्ने, धेरैलाई आसनग्रहण गराउने तथा वक्ता धेरै राख्ने जस्ता गुनासो सम्बोधन गर्न कार्यविधि पास गरिएको पौडेलले बताए । यसको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ । वि.सं. २००३ सालमा स्थापित नेपाली कांग्रेस संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा नियमावली २०७४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको दल रहेको पौडेलले स्पष्ट पारे । २०८२ पुस २७ देखि ३० सम्म काठमाडौँमा सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा विधानको धारा ४३ अनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको उनले उल्लेख गरे ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको परिवर्तन तथा विधान संशोधन विवरण मङ्सिर ८ गते निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको पनि उनले जानकारी दिए । केही व्यक्ति तथा समूहले कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा रूख चिन्हको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि गरिरहेकाप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै नागरिक, सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको उनले स्पष्ट पारे ।
आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि नगर्न, नगराउन तथा आधिकारिक रूपमा प्रचारप्रसार नगर्न बैठकले आग्रह गरेको छ । भ्रमपूर्ण कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सदस्य, तहगत समिति तथा शुभेच्छुकलाई अपिल गरिएको छ । आग्रह र अपिल अटेर गरी अनधिकृत गतिविधि गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित नेपाल कानुनअनुसार कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । आधिकारिक प्रतीकको संरक्षण र अनधिकृत प्रयोग रोक्ने कानुनी दायित्व निर्वाचन आयोगलगायत अधिकारप्राप्त निकायले पूरा गर्ने अपेक्षा पनि बैठकले गरेको पौडेलले बताए । यसैगरी कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायत केही समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।