मङ्सिर १५, काठमाडौँ । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग विकासमा विगतमा आफूहरुले प्रयास गरेको पहललाई पूरा गर्ने अठोट महासचिव पोखरेलको छ । वाम गठबन्धनका उम्मेदवार पोखरेलले बूढानीलकण्ठ– डाडाँगाउँ– गुर्जेभञ्ज्याङ– सडक र बूढानीलकण्ठ– ५ डाडाँगाउँ र टोखा–१ झोर जोड्ने पक्की पुल निर्माणको कामलाई पनि प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभएको छ ।
“हामीले अठोट गरेका कामहरु पूरा गरेरै छाड्छौँँ ।” महासचिव पोखरेलले रासससँग भन्नुभयो, “मुलुकको स्थिरता र समृद्धिको योजना र सपना हामीसँग छ, जनताले जिताएपछि काम गरेर देखाउनेछौँ ।”
सो क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयबीच समन्वय गरी जेहेन्दार, विपन्न तथा दलित र पिछडिएको समुदायका विद्यार्थीलाई लक्ष्य गरी ‘विशेष छात्रवृत्ति’ को व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धतामा उल्लेख छ ।
बूढानीलकण्ठमा स्नातकोत्तर तहसम्म अध्ययनको प्रबन्ध मिलाउन पहल गरिने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई रोजगारीसँग जोडी युवाको लागि विशेष कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतसँग प्रतिस्पर्धामा रहनुभएका पोखरेलले सो क्षेत्रलाई ‘अस्पताल हब’ बनाउने, स्वास्स्थ्य वीमा लागू गर्ने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ र ‘स्वर सम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण गर्ने उद्घोष गर्नुभएको छ ।
लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको विशालनगर–हाँडीगाउँको विकासलाई विशेष जोड दिने, शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोन, वर्षात्को पानी संकलन तथा शुद्धीकरण केन्द्र खोलिने उल्लेख छ ।
‘भ्यू टावर निर्माणजस्ता पूर्वाधारको विकास गरेर विशेषतः केबुलकारको माध्यमबाट नमूना गन्तव्यका रूपमा प्रवद्र्धन गरिनुका साथै, रानीबारी वन, टोखा वनभोज स्थललगायतका वन र पार्कको विकासलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाइने छ ।’ प्रतिबद्धतापत्रमा भनिएको छ, “हरेक वडामा नमूना सहकारी, मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला र क्लबको विकासका साथै प्राकृतिक विपत्तिको बेलामा उपयोग हुने खुल्ला क्षेत्रको व्यवस्थापनमा योजनाबद्ध प्रयास गरिने छ ।”
यस्तै भूतखेल चौरमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्ने, विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्य व्यवस्थित गरिने गठबन्धनको प्रतिबद्धता छ ।
सो निर्वाचन क्षेत्रको उत्तरी भेगमा अर्गानिकखेतीको लागि आवश्यक आधार निर्माण गरी किसानलाई विशेष प्रोत्साहन गरिने र विष्णुमति, इच्छुमति, सामाखुशीलगायतका नदीको स्वच्छता र सौन्दर्यको लागि व्यवस्थित पहल अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ ।
महासचिव पोखरेलले आज बिहान चुनावी कार्यक्रमअन्तर्गत धनेश्वर र टोखामा घरदैलो गर्नुभयो । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा ‘क’ नारायण सिलवाल र प्रदेश ‘ख’ मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ । प्रकाश सिलवाल/रासस