माघ ४, काठमाडौं | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज काठमाडौँमा बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो ।
बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य तथा चुनावी समीक्षाका बारेमाका छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र युवा नेताले संगठन सुदृढीकरण, विभिन विभागको पूर्णता, भातृ संगठनको पूर्णता र प्रभावकारी परिचालन लगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।