चैत १५, बर्दिवास | चैतेबाली धमाधम काटिन थालेपछि महोत्तरीको भंगाहा नगरपालिका–६ हतिसर्वा मदनपट्टीका किसान विष्णुनारायण राय थारु बाली थन्क्याउने चिन्ताले पिरोलिनु भएको छ ।
गहुँ, रहर, चना, मसुरोसहितका चैतेबाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले थारुको पिरोलो बढेको हो । खासमा चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब बन्न छाडेपछि यस भेगका किसानलाई बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता हुन थालेको छ ।
अन्नपात सुरक्षित भण्डारणका लागि घरघरमा बनाइने गरिएका माटाका कोठी बनाइन छाडिएपछि खासगरी धान र अन्य चैतेबाली सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ । ‘प्रत्येक घर÷घरमा माटाका कोठी (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय बौएलाल यादवले भन्नुभयो–,“अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।”
लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । ‘माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता ।”
भंगाहा–४ थारुटोल बनराकी ६५ वर्षीया रामसुनरदेवी थारुले भन्नुभयो–“अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउनपर्ने भयो ।” चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादी मिसाएर राख्नु परेको उहाँ बताउनुहुन्छ ।
माटाका कोठीमा खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वषौंसम्म जस्ताको त्यस्तै रहन्छ । मिथिला क्षेत्रमा खासगरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्छ । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनुका साथै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिन्छ ।
माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा ओझेलमा परेको छ । कोठी बन्न छाडेपछि भंगाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका बासिन्दा खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् ।
धर्मपुर थारु बस्तीकी धनमती बछारले भन्नुभयो–, “अबका छोरी, बुहारीले यसौ सिकांै भन्ने चासो नै देखाउँदैनन् , अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?” माटोका कोठीमा राखिएका खाद्यान्न वर्षौवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रबद्र्धन गर्न यहाँका स्थानीय तहले चासो बढाउनुपर्ने औरही स्वास्थ्यचौकीमा कार्यरत अनमी कमला राईको धारणा छ । रासस