चैत २२, पर्वत । “दक्षिणको विकास गर्न विकास लम्साल आउनुपर्ने, क्षेत्र नं १ को विकास गर्न चुनाव हारेपनि गणेश तिमिल्सिना आउनुपर्ने, अर्काले गरेका कामलाइ पनी मैले गरेको भन्दै मन्त्री बोकेर रिवन काट्न आउने, अनि मेरो कार्यकालका काम भन्ने ? ए बाबा तिम्रो कार्यकालमा भैसी पनि व्याएका छन्, कुखुरा पनि व्याएका, मान्छे मरेका छन्, जन्मेका छन् त्यसको जिम्मेवारी लिनुपर्छ कि पदैन ?”
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं हालका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले बडगाउँको पिपलको बोटमुनि गरेको भाषणको अंश हो यो ।
नेपाली काँग्रेसका तत्तकालीन सांसद एवं प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी प्रति कटाक्ष गर्दे गरिएको यो टिप्पणीले झण्डै आधा बर्ष काट्न थाल्यो, अर्थात् प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको पनि ६ महिनाभन्दा बढी भयो ।
स्थानीय तहको निर्वाचन भएको एक बर्ष पुग्न आट्यो । जिल्लामा ६१ वडामध्ये बहुमतमा एमालेबाट जनप्रतिनिधि विजयी भएका छन् । हिजो काँग्रेस नेता अर्जुन प्रसाद जोशीको कार्यकालमा भैसी, कुखुरा व्याएपनि त्यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर कटाक्ष गरेका गणेश तिमिल्सीना अहिले संसदको माथिल्लो सदन राष्ट्रिय सभाका अध्यक्ष बनेका छन् ।
उनी राष्ट्रिय सभाको अध्यक्ष भएको केहि महिनामात्रै भएको छ । उनी आफ्नो जन्मथलो पर्वत भ्रमण सकेर पनि फर्केका छन् । राष्ट्रियसभाको अध्यक्ष र उनको पर्वतको भ्रमण लगत्तै पर्वतमा बलत्कारको घटना भएको छ ।१६ बर्षिया बालिका सामुहिक बलत्कारमा परेकी छिन् ?
राष्ट्रियसभा अध्यक्ष ज्यू
तपाइको कार्यकाल, त्यो पनि तपाइको पर्वतको पहिलो भ्रमण लगत्तै भएको बलत्कारको घटनाको जिम्मेवारी तपाइ स्वयंमले लिनुपर्छ कि पर्दैन ?
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना ज्यू, अरुलाई भैसी, कुखुरा, मान्छे मरे, जन्मको जिम्मेवारी लिनुपर्छ भनेर कटाक्ष जून रुपमा गर्नुभएको थियो अब त्यो कटाक्ष तपाइतिर फर्किएको छ ?
पाँच बर्षमा जिल्लाको विकासमा कायपलट हुने सपना पनि थिए । ति विस्तार हुदै जालान् वा त्यसको बारेमा समय अनुसारनै टिप्पणी गरौला तर अहिलेको पर्वतको शान्ति सुरक्षा जून रुपमा विग्रिएको छ । जून रुपमा नागरिक अुरक्षित बनेका छन् त्यसको जिम्मेवारी राष्ट्रियसभाको अध्यक्षको हैसियतले र जिल्लाको बरिष्ठ नेताको हैसियतले लिनुपर्छ कि पर्दैन ?
कि यो प्रतिनिधिसभाका सांसद पदम गिरी, प्रदेश ४ का सभामुख नेत्र अधिकारी, प्रदेश ४ का मन्त्री विकास लम्सालले लिनुपर्ने हो ?
दिउँसै बालिकाको अपहरण प्रयास हुन्छ, सामुहिक बलत्कारको घटना घट्छ, चोरी डकैती बढ्छ यसको जिम्मेवारी कस्ले लिने ? बाम विजयी भएपछि जिल्लाबासीले के यहि पहिलो उपहार पाएका हुन् ? डर, क्रास, अशान्ति, असुरक्षा ?
राष्ट्रियसभाका अध्यक्ष ज्यू
बताउनुहोस् यसको जिम्मा कस्ले लिने? कसलाइ दिने ?
कि, अर्जुन जोशीमाथि थुपारौ यी दोषहरु?
बताउनुहोस पर्वतबासी जनता जान्न चाहान्छन् ?