वैशाख ३१, काठमाडौँ | पछिल्लो समय अनलाइन मिडियाहरुले अरु संचारमाध्यमले लेखेको समाचार साभार गर्ने काम भईरहेको भन्दै प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण गराएको छ ।
प्रेस काउन्सिलले संचार माध्यमहरुलाई ध्यानाकर्षण गराउंदै यस बिषयमा ध्यानाकर्षण गराएको हो । काउन्सिलले ध्यानाकर्षण पत्र अनुसार आमसञ्चारमाध्यमले सकारात्मक योगदान गर्दागर्दै पनि पछिल्लो चरणमा नेपाली पत्रकारिता–जगतमा झन्झन् विभिन्न खालका नकारात्मक प्रवृत्तिहरु देखापर्न थालेको जनाएको छ । काउन्सिलले अगाडी भनेको छ – 'यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता–जगतप्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको छ ।'
काउन्सिलका अनुसार पत्रकारितामा पछिल्लो समय सबैभन्दा ठूलो समस्या समाचारको हुबहु साभार भएको जनाएको छ । पत्राचारमा भनिएको छ 'कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार तथा समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताको तस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति लगायतका माध्यमबाट काउन्सिलमा पर्ने गरेको छ । यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचना समेत जारी गरेको पाइएको छ ।' त्यस्तै प्रेस काउन्सिल नेपालको पछिल्लो अनुगमन र अभिलेखअनुसार समाचार तथा समाचार–सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएका छन् भन्दै यस्तो कार्य पत्रकार आचारसंहिता– २०७३ विपरीत देखिएको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलले संचारमाध्यमहरुलाई पठाएको पत्रमा बिनाअनुमति तथा सत्य–तथ्य एवम् विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार तथा समाचार–सामग्री साभार नगर्न/नगराउन सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई को ध्यानाकर्षण गराएको हो ।