जेठ १८ ,काठमाडौं । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख गरिएको छ ।
हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद रहेका छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरिदार सरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।
तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।’
हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ ।
ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् । उनीहरुले सेवा परिवर्तन गर्न भने पाउने छन् ।
आजकल निजामती सेवामा प्रवेश गर्ने कर्मचारीहरुले दैनिक कामकाजमा आउने कम्प्युटरको ज्ञान जानेकै हुनुपर्ने नियम छ । लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा कम्प्युटर सम्बन्धी सीप परीक्षण गर्दछ र त्यसमा उतीर्ण भएकालाई योग्यताक्रमअनुसार नियुक्तिको सिफारिस गर्दछ ।