असोज २४, काठमाडौँ | हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज बिशेष गरि जमरा राख्ने दिन पनि हो । दशैमा राखिने जमराको आफ्नै धार्मिक महत्व छ ।
दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई नै जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् ।
घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । दशैँमा बाहेक अन्य समयमा पनि पुजा-आज्ञा हुन्छ तर जमरा राखिदैन । बडादसैँको पहिलो दिन दशैंघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । यसरी उम्रेको जमरा विजयादशमीको दिन आफ्नो कुलदेवताहरूलाई अर्पण गरी प्रसाद स्वरूप पुर्णिमाको दिनसम्म लगाउने गरिन्छ ।
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जौ को जुस भन्दै मिडियाहरुमा पनि यसका बिशेषताको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण हुनसक्छ यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महìव कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व धेरै छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।
१. जमरा उमार्न सर्वप्रथम जौ, गहुँ, धान र मकैको बिउ प्रयोग गर्नुपर्छ ।
२. दशैंको जमरा उमार्न शुद्ध तथा अध्याँरो ठाउँ छान्नुहोस् ।
३. सर्वप्रथम जौं/मकै/धान/गहुँको बिउलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।
४. अब एक दुना र अर्को टपरीमा माटो राख्नुहोस् र भरिने गरि भिजाएर राखिएका बिउहरु राख्नुहोस् र हल्का माटोले ढाकिदीनुहोस । साथै राखिएको जमरामा हरेक दिन पानी हाल्न भने भुल्नु हुँदैन । साथै घामको सोझो सम्पर्कमा पनि राख्नु हुँदैन । टपरी छैन भने गमलाको पनि प्रयोग गर्न सकिन्छ ।
५. अब दुना र टपरीमा पानीले माटो भिज्नेगरी राखेर अध्यारो र ओशिलो स्थानमा लगेर राख्नुहोस् ।
६. फुलपातीको दिनसम्ममा तपाइले रोपेको बिउहरु अंकुराई सकेको हुन्छ ।
७. अष्टमीका दिन दुनामा अंकुराएको जमराको प्रयोग गरिने चलन छ । दशैंको दिन खसी/राँगा काट्दा उक्त दुनाको जमरा प्रयोग गरेर पुजा गर्ने चलन पनि छ ।
८. टपरीमा अंकुराएका जमराहरु अष्टमी र नवमीको दिनसम्ममा पहेलो भएर निकै आकर्षक देखिन्छन् जसलाई टिकाको दिन प्रसादको रुपमा प्रयोग गरिन्छ र पुर्णिमाको दिनसम्म पनि उक्त जमराको प्रयोग टिका थाप्न आउनेहरुलाई लगाएर गरिन्छ ।