कात्तिक १९, काठमाडौँ | सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा लाग्नुभएको छ ।

यसअघि लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय सङ्गीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । आगामी मङ्सिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्याण्डमा आफूले नृत्य शुरु गर्ने बन्दनाले बताउनुभयो । उहाँले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्नुहुनेछ ।

युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक गीत तथा लोकसङ्गीतप्रति उत्साह जगाउन आफ्नो नृत्य महत्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, “हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि कीर्तिमान नराखेकाले मेरो सांस्कृतिक नृत्य विश्वमै पहिलो कीर्तिमान हुनेछ । लोक नृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन आफूले साहस गरेको हो ।”

गीत, सङ्गीतमा सानैदेखि रुची राख्ने बन्दनाले आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेर नृत्य सिकाइ राख्नुभएको छ । उहाँले २०७३ सालमा शिवकैलाश कला केन्द्रबाट एक र भारतको बैंगलोरबाट दुई महीनाको नृत्य प्रशिक्षण कक्षा लिनुभएको थियो ।